Logo

‘पार्टीका नेताको दिनमा सयजना दलालसँग भेट हुन्छ’ – घनश्याम भूसाल (भिडियाेसहित)


नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य घनश्याम भुसालले कम्युनिस्ट पार्टीका नेताहरूको दिनकै सयजना दलाल पुँजीपतिसँग भेट हुने गरेको विचारोत्तेजक धारणा राखेका छन् । १९ औँ शताव्दीका चिन्तक एवम् समाजवादका प्रणेता कार्ल मार्क्सको २०१ औँ जन्मजयन्तीका अवसरमा कार्ल मार्क्स द्विशतवार्षिकी समारोह समितिले आयोजना गरेको कार्यक्रममा स्वागत मन्तव्य राख्दै उनले भने, “दलाल पुँजीवादले देशको निर्वाचन प्रणाली नै यस्तो बनाइदिएको छ । जित्नुपर्नेले होइन, जित्न सक्नेले टिकट पाउँछ । केन्द्रीय कमिटी, तलका कमिटीहरू त्यसैको चाँजोपाँजो मिलाउन लाग्छन् । यस्तो लाग्छ– दिनकै सयजना दलाल पुँजीपतीसँग भेट हुन्छ । बिहान भन्सारको तस्कर आयो । कर छल्ने मान्छे आयो । दिउँसो आफ्नै पार्टीको नपढाउने प्रोफेसर आयो । साँझ भूमाफिया आयो । यो राजनीतिमा यति मान्छेसँग ठक्कर खाइन्छ, खाइन्छ ।”

अहिले पार्टीभित्रको सैद्धान्तिक विमर्श कुन व्यापारी, कुन तस्करको पक्षमा को नेता छ भन्ने तहमा ओर्लिइसकेको र क्रान्तिकारी भन्नेहरूले होस गुमाइसकेको उनको टिप्पणी थियो ।“अहिले दलाल पुँजीवादले पार्टीका अनेक कसिंगर पैदा गरिसकेको छ । कानुन ठिक गर्न खल्तीका न्यायाधीश नियुक्त गर्नुपर्‍यो । कर, भन्सारमा आफूले भनेका मान्छे हाकिम बनाउनु पर्‍यो । टिप्पणी उठाउने कर्मचारी आफ्नो मान्छे चाहियो । अदालतमा लोकमानसिंह कार्कीजस्ता पात्र चाहियो,” उनको भनाइ थियो ।

भुसालले समृद्धि र समाजवादको यात्रामा पार्टी र त्यसका नेता कार्यकर्ताले आफू कहाँनेर छु भनेर ठम्याउनै नसकेको टिप्पणी गरे । “समृद्धि र समाजवादको यात्रामा हामी कहाँनेर छौँ भनेर थाहा नपाइकन हिँड्ने हो भने यो समाजवादको डुँगा कहीँ गएर हिमपहाडमा ठोकिन्छ । सत्यानास हुन्छ ।”उनले कम्युनिस्ट पार्टीले हासिल गरेको जनमत उत्ताउलो हुन नदिएको बताए । “यो जनमतले हामीलाई कुनै पनि हिसाबले उत्ताउलो हुन दिँदैन । कुनै पनि हिसाबले आत्तिन र मात्तिन दिँदैन । त्यो जिम्मेवारीका साथ हामीले हेर्नुपर्छ ।” कम्युनिस्ट पार्टीका नाममा गएको एक सय वर्षपछि नेकपाले अभूतपूर्व सफलता हात पारेको जिकिर भुसालको थियो । “सय वर्षको इतिहास, यो उपलब्धिका लागि बगेको रगत र पसिनाको मूल्यको हेक्का राख्नुपर्छ,” उनले स्मरण गराए । उनले हिजो राजाले खाए, त्यसपछि कांग्रेसले खाए, अब हाम्रै पालो हो भनेर यो उपलब्धिलाई हेर्न नमिल्ने जिकिर गरे ।

प्रतिक्रिया दिनुहोस्