रंगशालाकाे बार भत्काउँदा भक्कानिएर राेए धुर्मुस (भिडियाेसहित)
चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तर्रा्ष्ट्रिय क्रिकेट रंगशाला निर्माणस्थलमा लगाइएको बार केही स्थानीयले भत्काइदिएका छन् । बुधबारविहान डोजरसहित आएका केही व्यक्तिले जस्तापाताले लगाएको बार भत्काइदिएका हुन् । बार भत्काउने क्रममा उनीहरुले धुर्मस–सुन्तली फाउण्डेशनका कर्मचारीहरुलाई धम्कीसमेत दिएका छन् । कलाकार सीताराम कट्टेल (धुर्मुस) ले गरिब जनताले रगत–पसिना खर्चिएर बनाउन लागेको क्रिकेट रंगशालाको कम्पाउण्ड वाल स्थानीयले डोजर चलाएर क्षत विक्षत तुल्याइदिएको गुनासो गरेका छन् । नेकपाका स्थानीय तहका नेता प्रकाश कँडेलको नेतृत्वमा सय–सवा सयको संख्यामा आएको जत्थाले रंगशाला छेक्न ठड्याएको जस्तापाता क्षत विक्षत तुल्याउँदै कर्मचारीलाई धम्की दिएको धुर्मुसले जानकारी दिए ।
धुर्मुसका अनुसार आफ्नै आँगनअगाडि क्रिकेट रंगशाला बन्ने भएपछि स्थानीय उत्साहित थिए । धुर्मुस दम्पतीलाई घडा राखेर अबिरजात्रा गर्दै स्वागत गरेका थिए । तर, तिनै स्थानीय बुधबार एकाबिहानै डोजरसहित पर्खाल र तारजाली भत्काउन आएका देख्दा आफू मर्माहत भएको उनले बताए ।“निर्माणाधीन क्रिकेट रंगशाला यस क्षेत्रको विकासका लागि कोषेढुंगा बन्दै थियो । रामपुरको मात्र नभइ समग्र चितवनको विकाको भरपर्दो आधार बन्दै थियो । यहाँका स्थानीयबासीले पनि त्यसको लाभ पाउँथे । तर, कुत्सित मनशाय बोकेकाहरूको उक्साहटमा लागे,” उनको दुःखेसो छ । स्थानीयका अनुसार प्रकाश कँडेल माओवादी पृष्ठभूमिका हुन् । र उनी विद्यार्थी राजनीति गर्थे । माओवादी विभाजन हुँदा वैद्य समूहमा लागेका उनी पछि रामबहादुर थापा वादलसँगै माओवादी केन्द्रमा फर्किएका थिए । र, अहिले उनी नेकपामै आवद्ध छन् । उनी नै घटनाको मुख्य योजनाकार भएको भन्दै प्रहरीले खोजी तीव्र पारेको छ । ‘रेणु दाहाललाई मेयर बनाउने मै हुँ । मैले भनेको नमान्ने १’ भन्दै उनले धाक–धम्कीसमेत दिएको स्थानीय बताउँछन् ।
धुर्मुसका अनुसार विश्वविद्यालयसँग साँध जोडिएका जग्गाधनीहरूले बाटो फराकिलो पार्नुपर्ने माग राखेका थिए । निर्माणाधीन क्रिकेट रंगशालाको पश्चिमतर्फबाट अहिले पनि सडक गएको छ । रंगशाला बन्ने भएपछि स्थानीयले ७ मिटरको उक्त मोटरबाटो बढाएर २१ मिटर चौडा बनाउनुपर्ने माग राख्दै आएका थिए ।धुर्मुसका अनुसार उनले स्थानीय अगुवासँग यस विषयमा पटकपटक कुरा गरेका छन् । चार दिनअघिमात्रै पनि जग्गाकै विषयमा लामो कुराकानी भएको थियो ।धुर्मुसले उक्तबाटोमा मालवाहक गाडी पनि नगुड्ने र रामपुर जोड्ने बाटो भएकाले १० मिटर फराकिलो भए पुग्ने तर्क गरेका थिए । त्यसका लागि आवश्यक जग्गा छाड्न तयार भएका थिए । र, चारदिनको समयसीमा दिएका थिए । तर, स्थानीय आफ्नोतर्फ एक इन्च जग्गा छाड्न राजी भएका थिएनन् । रंगशालाका लागि छुट्टयाएको जग्गा नै बाटोका लागि दिनुपर्ने उनीहरूको माग थियो । “उनीहरू चारदिनसम्म मौन थिए । आज बिहान डोजरसहित आएर धमाधम भत्काउन थाले । म मुकदर्शक बनेर हेरिरहेँ,” धुर्मुस दुःख पोख्छन् । हामीले याे समाचार नारायण अनलाइनकाे सहयाेगमा बनाएका हाैं ।