Logo

देशभर मौसम खराब – सुदूरपश्चिम प्रदेशमा भीषण आँधीहुरीबाट २ को मृत्यु, १०० बढी घाइते


बिहीबार रातिदेखि नै मौसम खराब भएको छ । शुक्रबार एकाबिहानै काठमाडौं उपत्यका र आसपासमा पनि तीव्र हावाहुरीसहित बर्षा भएको छ । यो समाचार तयार पार्दासम्म काठमाडौं र आसपासका ठाउँमा हावाहुरीसँगै वर्षा भइहरको छ भने आकाशमा डम्म बादल मडारिरहेकै छ ।मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशैभरिको मौसममा बदली हुनेछ । देशका पूर्वी भूभागमा सामान्य बदली रहने तथा मध्य र पश्चिमी भू भागका स्थानहरूमा आंशिक देखि सामान्य बदली रही पश्चिमी पहाडी भु- भागका थोरै स्थानहरु र मध्य तथा पुर्वी भु(भागका केही स्थानहरुमा मेघ गर्जनसहित वर्षा हुने बताइएको छ ।

सुदूरपश्चिम प्रदेशको दुई जिल्ला कैलाली र कञ्चनपुरमा भीषण आँधीहुरीबाट २ को मृत्यु र १०० बढी जना घाइते

सुदूरपश्चिम प्रदेशको दुई जिल्लामा बिहीबार साँझ भीषण हावाहुरी आउँदा व्यापक क्षति भएको छ ।साँझ ८ बजेतिर कैलाली र कञ्चनपुर जिल्लाका अधिकांश स्थानमा भीषण आँधीहुरी आएको दुबै जिल्लाका प्रहरीले पुष्टि गरेको छ ।प्रहरीका अनुसार दुई जिल्लामा आँधीहुरीबाट २ को मृत्यु र १०४ जना घाइते भएका छन् । उनीहरु मध्ये केहीको अवस्था गम्भीर भएको जनाइएको छ ।हावाहुरीका कारण धनगढीमा कम्तीमा ४० जना घाइते भएका छन् । यस्तै रुखहरु ढलेका छन् भने सयौं घरका छानाहरु उडाएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख एसपी सुदीप गिरीले जानकारी दिए ।आँधीहरुबाट जिल्लाभरको जनजीवन प्रभावित बनेको र उद्दारकार्य जारी रहेकाले थप मानवीय क्षतिको विवरण आउन बाँकी रहेको जानकारी दिए । उनका अनुसार ठाउँठाउँमा रुखहरु ढल्दा सडक अवरुद्ध बन्न पुगेको छ । अहिले प्रहरीले उद्दार कार्य जारी राखेको उनले बताए ।

यस्तै कञ्चनपुरमा पनि हुरीको व्यापक प्रभाव परेको छ । विशेषगरी महेन्द्रनगर र आसपासको क्षेत्रमा हुरीको प्रभाव परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता डीएसपी ज्ञानबहादुर विष्टले जानकारी दिए । कञ्चनपुरमा हुरीबाट ४० जना घाइते भएको र उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्