Logo

तरुण दल अध्यक्ष बस्नेतले खोले केपी ओली सरकारले गुठी संस्थान खारेज गर्न खोज्नुको रहस्य


गुठी संस्थानको जग्गा ऐन खारेजको बिषयमा शनिबार माईतीघरमा प्रदर्शन गरेका काठमाडौँका जनता माथि केपी ओली सरकारले लाठी चार्ज गरेको छ । शनिबारको यस घटना अहिले निकै तातिरहेको छ । यस बिषयमा नेपाली काँग्रेसको भातृ संस्था नेपाल तरुण दलले प्रदर्शनकारीहरुलाई समर्थन गरेको छ । गोरखामा भएको नगर सम्मेलन कार्यक्रममा बोल्दै नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष जित जंग बस्नेतले सरकारले गुठीको जग्गा कब्जा गर्ने मनसायले यो सबै गरिरहेको आरोप लगाएका छन् ।

उनले बालुवाटार जग्गा काण्डको स्मरण गर्दै जनताको अधिकार हनन गर्दै देशलाई नै अन्धकार तर्फ धकेल्न केपी ओली सरकार अग्रसर रहेको समेत उनले बताएका छन् । आफ्नै पार्टीको महासचिवको नाम बालुवाटार जग्गा काण्डमा आउँदा समेत कुनै छानबिन नगरी जनताको आँखामा छारो हाल्ने काम केपी ओली कम्युनिष्ट सरकारले गरेको उनको भनाई रहेको छ । एकतर्फी अधिनायकवादी शासन कायम गर्ने कोशिश अहिलेको सरकारले गरिरहेको उनको ठम्याई रहेको छ ।

उनले अहिले सरकार दलाल र भ्रष्टहरुले भरिएको सरकार रहेको र देशको सम्पति व्यक्तिगत हिसाबले कब्जा गर्ने काम गरिरहेको बताएका छन् । यस्तै कम्युनिष्ट सरकारले नेपालको धर्म, संस्कृति, रितिरिवाजलाई नै ध्वस्त बनाउने काम समेत गरिरहेको उनको भनाई रहेको छ । उनले शान्तिपूर्ण ढंगले माइतीघरमा प्रदर्शन गरिरहेका जनता माथि लाठी बर्साएर जनताको आवाजलाई दबाउने कोशिश गरेको भन्दै नेपाल तरुण दलले यसको घोर भर्त्सना समेत गरेको छ ।

सरकारको यस्ता कदमको नेपाल तरुण दल घोर बिरोध गर्छ भन्दै केन्द्रीय अध्यक्ष बस्नेतले सरकारलाई रोक्न र जनताको अधिकार दिलाउन नेपाल तरुण दल जस्तोसुकै बलिदान दिन समेत तयार रहेको बताएका छन् । उनले तरुणहरुले आफ्नो ज्यानको आहुति दिएर पनि देशलाई बचाउने र जनतालाई उनीहरुको अधिकार दिलाउने प्रतिबद्धता समेत उनले जाहेर गरेका छन् । उनले केपी ओली सरकारलाई खुल्ला चुनौती र चेतावनी समेत दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्