Logo

‘देश चलाउन पैसा छैन’ – इमरान खान


आर्थिक अवस्था नाजुक बन्दै जाँदा पाकिस्तानका प्रधानमन्त्री इमरान खानले सोमबार राष्ट्रका लागि सम्बोधन गर्दै भने, ‘देश चलाउन पैसा छैन ।’इमरान खानले पाकिस्तानलाई सामान्य अवस्थामा फर्काउन र गरीब जनताको जीवनमा सुधार ल्याउन प्रत्येक नागरिकले भूमिका खेल्नु पर्ने बताएका छन् । उनले पाकिस्तानका सबै नागरिकलाई जुन ३० तारिखसम्म आफ्नो सम्पत्ति विवरण बुझाउन आग्रह गरेका छन् । उनका अनुसार यसरी वैध धन र कालो धन पत्ता लाग्ने छ । कालो धनलाई सरकारले जफत गरी आर्थिक अवस्था सुधारमा खर्च गर्नेछ ।

 

‘पछिल्लो १० वर्षमा पाकिस्तानको ऋण ६ हजार अर्बबाट ३० हजार अर्ब रुपैंयाँमा पुगेको छ । हामीले जुन चार हजार अर्बको वार्षिक कर उठाउँछौं त्यसको आधा रकम ऋणको किस्ता तिर्नमा जान्छ । बाँकी पैसा जुन बच्छ त्यसले देशको खर्च चल्न सक्दैन ।’इमरान खानले भने, ‘पाकिस्तानी विश्वमा कम कर तिर्ने नागरिकहरुमा पर्दछन् । तर यहाँकै नागरिक सबैभन्दा बढी ऋणको बोझमा छन् । यदि हामी तयार भयौं भने प्रत्येक वर्ष कम्तिमा १० हजार अर्ब रुपया जम्मा गर्न सक्छौं ।’खानले ३० तारिखसम्म सम्पत्ति सार्वजनिक गर्न आग्रह गर्दै सरकारसँग सबैको सम्पत्ति विवरण भएको बताएका छन् । उनले यस कार्यमा गम्भीर हुन आग्रह गरे । उनले भने, ‘हामीसँग कसको सम्पत्ति विदेशमा छ । कसको नक्कली वैंक खातामा पैसा छ । सबै सूचना छ।’ उनले भगवान् अल्लाको नाम लिँदै सहयोगको अपेक्षा गरेका थिए ।

इमरान खानको सरकार भयानक आर्थिक संकटमा गुज्रिरहेको छ । तीन ट्रिलियन रुपैंयाँ घाटाको बाबजुद सरकारले मंगलबार बजेट पेश गर्दैछ । गत वर्षको पाकिस्तानको बजेट १.८ ट्रिलियनको मात्र थियो । यस पटकको बजेटमा देशको सुरक्षाका लागि छुट्याइने बजेटको घोषणा हुने छैन । आर्थिक संकटलाई टार्न उक्त सुरक्षा बजेट खर्च हुने जनाइएको छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्