Logo

विप्लवको बन्दः यस्तो छ बन्दको प्रभाव


उपत्यका ब्यूरो इन्चार्ज माइला लामा लगायतका अन्य नेता तथा कार्यकर्ताहरु पक्राउको विरोधमा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको साविकको बागमती, नारायणी र जनकपुर अन्तर्गतको दोलखा र रामेछाप बन्दको घोषणा गरेको छ ।बन्दको क्रममा विप्लव समूहले विभिन्न स्थानमा बम पड्काउनुका साथै कैयन स्थानमा तोडफोड र आगजनीसमेत गरेका छन् । विप्लव समूहले बन्दको पूर्व सन्ध्यादेखि बुधबार बिहान १० बजेसम्म गराएका घटनाहरुको फेहरिस्त यस्तो छ ।

 

बन्दको प्रभाव

प्रतिबन्दित विप्लव समूहको नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको बन्दका कारण आह्वान गरिएका सबै जिल्ला प्रभावित बनेका छन् ।उपत्यका भित्रिने सवारी साधनहरु १ देखि १५ प्रतिशत मात्र चलेको छ भने उपत्यकाबाट बाहिरिने सवारीसाधन अन्य दिनको तुलनामा २० प्रतिशत मात्रै रहेको छ । रसुवा, गोर्खा र नुवाकोट जाने काउण्टर खुलेको छैन भने अन्य स्थानमा जाने बसको काउण्टर खुलेको छ । केही शैक्षिक संस्था खुलेपनि अधिकांश शैक्षिक संस्था बन्द रहेका छन् । बजार भने खुल्ला रहेको छ ।

 

प्रदेश नम्बर १ का सबै काउण्टर खुल्ला छन् । दैनिक सञ्चालनमा आउनेमध्ये ८५ प्रतिशत सवारीसाधन चलेको छ । तर, उदयपुरबाट पश्चिम जाने सवारी साधनहरु भने अझै चलेका छैनन् । यता प्रदेश नम्बर २ का सबै काउन्टरहरु खुल्ला भई करिब ८५ प्रतिशत सवारी साधन सञ्चालनमा आएको छ । तर महोत्तरीबाट वीरगंजको लागि जानुपर्ने सवारीसाधन भने चल्न सकेका छैनन् । उपत्यकासमेत पर्ने प्रदेश नम्बर ३ मा जम्मा १५ प्रतिशत मात्रै सवारीसाधन चलेका छन् । करिब ४० प्रतिशत मात्रै बजार र शैक्षिक संस्था खुलेका छन् ।

प्रतिक्रिया दिनुहोस्