डेंगु रोगको जोखिम देशैभर बढ्दो, काठमाडौँ उपत्यकामा पनि देखिएयो
साउन अन्तिम साता काठमाडौँ उपत्यकामा देखिएको डेंगु संक्रमण बढ्ने क्रममा रहेको राष्ट्रिय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । बुधबारसम्ममा काठमाडौँमा १७ जनामा डेंगु संक्रमण प्रमाणित भएको तथ्यांक महाशाखामा प्राप्त भएको छ ।अन्यत्रबाट रेफर भएर आएका बिरामीसहित यो संख्या ४९ पुगेको महाशाखाका प्रवक्ता घनश्याम पोख्रेलले बताए । चिकित्सकका अनुसार एडिस एजिप्टाई नामक लामखुट्टेको टोकाइबाट मानिसमा डेंगी संक्रमण हुन्छ । यो लामखुट्टे कालो र सेतो मिसिएको छिर्केमिर्के हुन्छ । डेंगु भाइरस संक्रमित भएका लामखुट्टेले टोकेको अवस्थामा मानिसलाई पनि यो संक्रमण हुन्छ ।
डेंगु ज्वरोबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नुका साथै लामखुट्टेको वृद्धि रोक्नुपर्छ । यसका लागि पानी जम्न सक्ने भाँडाहरू जस्तै गमला, फुलदान,खाली बट्टा, अलकत्रा वा मट्टितेलका खाली ड्रमहरू, गाडीका काम नलाग्ने टायरहरूमा पानी जम्न दिनु हुदैन । पानीको ट्याङ्कीलाई लामखुट्टे प्रवेश गर्न नदिने गरि छोपेर राख्ने पर्छ भने कुलरमा रहेको पानीमा प्रत्येक हप्ता एक दुई चम्चा मट्टितेल हालिदिने साथै जम्मा भएको पानी सफा गर्न सकिन्छ ।
यस लामखुट्टेले दिउँसो टोक्ने हुँदा दिउँसो बस्दा बाहुला भएको वा शरीर ढाकिने लुगा लगाउनुपर्छ । सम्भव भएसम्म दिउँसो सुत्दा पनि झुल प्रयोग गर्नुपर्छ । साथै साना केटाकेटिलालाई जुनसुकै समयमा पनि झुलभित्र सुताउनु पर्छ । लामखुट्टेको टोकाइबाट बच्न लामखुट्टे भगाउने मलहम दल्न पनि सकिन्छ । घरका झ्याल ढोकामा जाली लगाउनु उपयुक्त हुन्छ ।