Logo

‘भन्ने कुरा ठूलो होइन, के गर्ने भन्ने कुरा ठूलो हो’ – प्रचण्ड (भिडियोसहित)


 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुलुकमा फेरि अर्को आन्दोलनको खाँचो देखिएको बताएका छन् ।दिवंगत नेतृ सहाना प्रधानको स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्वोधन गदै अध्यक्ष प्रचण्डले मुलुकलाई आर्थिक विकासमा लैजाने खालको शान्तिपूर्ण र प्रतिष्पर्धात्मक आन्दोलन चाहिएको बताएका छन् ।

‘हामी हिजो जे आदर्श भन्थ्यौं, आज त्यही आदर्शमा छौं त रु हामी सबैले गर्नुपर्ने मुख्य प्रश्न यही हो,’ प्रचण्डले थपे, ‘हामीलाई अर्को आन्दोलन, अभियान र मिसन चाहिएको छ । सम्पूर्ण ताकत लगाउने फौज चाहिएको छ । नत्र हाम्रो पार्टीको हालत पूर्वी युरोपका कम्युनिष्ट पार्टीको जस्तै हुन्छ ।’ उनले अहिले विकासका कुरा मात्र धेरै भए पनि व्यवहारमा त्यस्तो नदेखिएको बताएका छन् । ‘मीठा–मीठा कुरा भन्न सजिलो छ । हिजो राजा–महाराजाहरूले पनि विकासको मूल फुटाउने कुरा त गरेकै हुन् । तर भयो अर्कै,’ प्रचण्डले भने, ‘भन्ने ठूलो कुरा होइन । के गर्ने भन्ने ठूलो कुरा हो । भन्न त जे पनि सकिन्छ ।’

उनले नयाँ आदर्श स्थापना गर्नका लागि पार्टी एकता गरिएको औंल्याउँदै तर अहिले त्यो अर्कै तरिकाले अघि बढ्न लागेको उल्लेख गरे ।‘पदका लागि गुट–उपगुट बनाएर लडौं भनेर होइन नयाँ र अभियानतिर जाऔं भन्नका लागि एकता गरेको हो । तर, अहिले आदर्शच्यूत र स्खलित हुने अवस्था आयो,’ प्रचण्डले थपे, ‘भिन्न तरिकाले जान लाग्यो भने त्यसलाई सुधार्नु पर्छ ।’नयाँ समाजवादी व्यवस्था र संस्कृति स्थापना गरी कम्युनिष्ट पार्टीलाई जनताको सेवकका रूपमा स्थापित गर्न नयाँ मिसन र उद्देश्यका साथ आन्दोलन गर्नुपर्नेमा प्रचण्डले जोड दिए ।

प्रतिक्रिया दिनुहोस्