Logo

डीएसपीको ‘खसी काण्ड’ले देशभरि खैलाबैला, तरुण दल अध्यक्षको चेतावनी आए संगै बाँकेमा प्रदर्शन


नेपाली काँग्रेसको भातृ संस्था नेपाल तरुण दल नेपालगञ्ज नगर कमिटीका अध्यक्ष सन्दीप जंग शाह सहित ६ जनालाई पक्राउ गरिएको विषयमा नेपाल तरुण दलले आपित्त जनाउदै प्रेस विज्ञप्ती निकालेको छ । प्रहरीले बिहीबार बेलुकी साढे ८ बजे नगर अध्यक्ष शाह सँगै दिनेशकुमारी शाही, राघव शाह, पृतम थापा, माधव नेपाली र याम बहादुर बुढा मगरलाई कोहलपुरको नमस्ते भिलेज रिसोर्टबाट पक्राउ गरेको थियो ।

बाँके प्रहरीले उनीहरुलाई हातहतियारसहित पक्राउ गरिएको बताएको छ । तर, तरुण दलको केन्द्रीय अध्यक्ष जीतजङ्ग बस्नेतले भने प्रहरीबाट झुठा आरोपमा फसाउने र सामाजिक आतङ्क सृजना काम भएको जिकिर गरेका छन् । उनीहरु निर्दोष रहेको भन्दै प्रहरीलाई हतियारमा भएको ‘फिङ्गर प्रिन्ट’ जाँच गरेर सत्यतथ्य बाहिर ल्याउन तरुण दल अध्यक्ष बस्नेतको माग छ ।

प्रहरी आफैँले लगेको हतियार सन्दीप जंग शाहको गाडीबाट बरामद भएको भन्दै झुठो प्रचार गरेको अध्यक्ष बस्नेतद्वारा प्रेस विज्ञप्तीमा उल्लेख छ । तरुणहरुलाई दुःख दिने कुत्सित एवम् दुरासययुक्त नियतले नगर अध्यक्ष शाहलाई प्रहरीले पक्राउ गरेको उनको भनाई रहेको छ । अध्यक्ष बस्नेतले पक्राउ परेकाहरुलाई तत्काल रिहा गर्न र झुठा प्रपञ्च रच्ने प्रहरीहरुमाथि हदैसम्मको कारवाहीको माग गरेका छन् ।

नेपाल तरुण दल मागलाई बेवास्ता गरे सरकारले गम्भीर मूल्य चुकाउनु पर्ने उनको चेतावनी छ । ‘हाम्रो सदासयता र धैर्यतालाई बेवास्ता गरिएमा वर्तमान सरकार र यसका मतियारहरुलाई यसको गम्भीर मूल्य चुकाउनुपर्ने चेतावनी दिन चाहन्छौँ,’ विज्ञप्तिमा भनिएको छ । उनीहरु शान्तिपूर्ण रुपमा आफ्नो घरायशी छलफलमा रहेकै अवस्थामा प्रहरीले विनाकारण अमर्यादित र अमानवीय ढङ्गले पक्राउ गरेको दाबी गरिरहेको उनको दाबी छ ।

यस्तै नेपाल तरुण दल बाँकेले ईलाका प्रहरी कार्यालय कोहलपुरका ईञ्चार्ज एवम् डीएसपी हेमबहादुर शाहीको हर्कतको विरोधमा चक्का जामको कार्यक्रम घोषणा गरेको छ । तरुण दलले शनिबार बिहान ११ बजे कोहलपुरको चौराहमा चक्का जामको कार्यक्रम राखेको छ । डीएसपी शाहीले नेपाल तरुण दलका नेपालगञ्ज नगरका अध्यक्ष सन्दीपजंग शाहसहित छ जनालाई हतियार राखेको अभियोग लगाउँदै पक्राउ गरेको र खसी माग्दा नपाएको झोँकमा तिघ्रा छेड्ने भनेर दिएको धम्कीको विरोधमा तरुण दलले चक्का जामको घोषणा गरेको हो ।

चक्का जामको कार्यक्रममा सहभागी हुन नेपाल तरुण दल बाँकेका जिल्ला कोषाध्यक्ष केशर खड्काले जानकारी दिएका छन् । डीएसपी शाहीले दशैँमा तरुण दलले खसी नदिएको झोँकमा गोली हानेर तिघ्रा छेड्ने धम्की दिएको अडियो सार्वजनिक भएपछि आलोचना भएको छ ।

प्रतिक्रिया दिनुहोस्