Logo

कांग्रेस उम्मेदवारलाई जिताउन तरुण दलले बनायो उपनिर्वाचन परिचालन समिति र अनुगमन समिति


उपनिर्वाचन नजिकिदै गर्दा देशका सबै पार्टीले जोडतोडले तयारी सुरु गरेको देखिन्छ । यस्तै गएको निर्वाचन जस्तै यस उपनिर्वाचनमा पनि नेपाली काँग्रेस र नेकपाको भिडन्त हुनेछ । यहि बीच नेपाल काँग्रेसले आफ्नो तयारी निकै तिब्र गतिमा सुरु गरिसकेको छ । यस्तै पार्टीका उम्मेदवारहरुलाई जिताउनको लागि नेपाली काँग्रेसको भातृ संस्था नेपाल तरुण दलले पनि बलियो रणनीति बनाएको छ ।

उपनिर्वाचनलाई लक्षित गर्दै नेपाल तरुण दलले केन्द्रीय उपनिर्वाचन परिचालन समिति र अनुगमन समिति गठन गरेको छ । तरुण दल केन्द्रीय समितिको शुक्रबार बसेको बैठकले उपाध्यक्ष उत्तम चापागाइँको संयोजकत्वमा उपनिर्वाचन परिचालन समिति र कोषाध्यक्ष विद्वान गुरुङको संयोजकत्वमा अनुगमन समिति गठन गरेको हो । नेपाल तरुण दल केन्द्रिय समितिले केन्द्रिय अध्यक्ष जित जंग बस्नेतको हस्ताक्षर सहित विज्ञप्ती पनि जारी गरिसकेको छ जसमा चापागाइँ नेतृत्वको केन्द्रीय निर्वाचन परिचालन समिति ३७ सदस्यीय रहे पनि गुरुङ नेतृत्वको अनुगमन समिति कति सदस्यीय छ भन्ने खुलाइएको छैन ।

केन्द्रीय निर्वाचन परिचालन समितिको सदस्यमा उपनिर्वाचन हुँदै गरेका सबै ३७ वटा जिल्लाका तरुण दलका अध्यक्षहरू सदस्य रहनेछन् ।‘तरुण दलले निर्वाचनमा उम्मेदवारहरूको प्रचार प्रसारमा सहयोग गर्नेछ’, अध्यक्ष बस्नेतले भने, ‘प्रतिनिधि सभा, प्रदेश सभा र स्थानीय तहमा उम्मेदवारहरूलाई सहयोग गर्ने दायित्व तरुणको हो । हामीले आफ्नो तर्फबाट सहयोग गर्नेछौँ ।’

नेपाली कांग्रेसले आफ्ना उम्मेदवारहरूलाई विजयी बनाउन विभिन्न समिति र उपसमितिहरू बनाइरहेका बेला नेपाल तरुण दलले पनि दुई वटा समिति बनाएर आफूलाई सक्रिय बनाएको छ । नेपाली कांग्रेसले दुई तिहाइको बलियो कम्युनिस्ट सरकारका कारण जनताले दुःख पाएको भन्दै कम्युनिस्ट सरकारलाई सहि ठाउँमा ल्याउन उपनिर्वाचन कांग्रेसले जित्ने पर्ने जनाएको छ । नेपाल तरुण दलले पनि पार्टीका उम्मेदवारहरूलाई विजयी बनाउन आफ्नो तर्फबाट भूमिका खेलेको छ ।

प्रतिक्रिया दिनुहोस्