Logo

उच्च शिक्षा हासिल गर्ने मुसहर बस्तीका एक्लो बिद्यार्थी (भिडियाेसहित)


(महेश पाण्डेय) धुर्मुस सुन्तली फाउन्डेसनले निर्माण  गरेको बर्दिबास नगरपालिका १ स्थित एकीकृत नमुना मुसहर बस्तीका १९ वर्षीय मन्जय सदाय मुसहर नमुनामा दरिन्छन्। ५० परिवारको एकीकृत बस्तीमा उच्च शिक्षा हासिल गर्ने मन्जय एकमात्र हुन्। बस्ती नजिकैकाे जनता उच्च माविबाट वाणिज्य शास्त्रमा कक्षा १२ कक्षा उत्तीर्ण गरेका मन्जय हाल स्नातक तहकाे पहिलाे बर्षमा अध्ययनरत छन्।

मन्जयले कक्षा ६ देखि विद्यालयमा तेस्रो स्थान हासिल गरे। त्यसपछि अभिभावकमा अझ पढाउनुपर्छ भन्ने हौसला बढ्यो। उनको लगनशीलता देखेर विद्यालयले उनको पढाइ नि:शुल्क गरिदियो। कक्षा ८ सम्म अरू प्रतिस्पर्धीसँग तेस्रो स्थान उनले कायम नै राखे। आफू तेस्रो हुँदासमेत बस्तीका बालबालिका खेलेर दिन बिताएको देख्दा पढाउनुपर्छ भनेर अभिभावकलाई भनसुन गरेपछि बल्ल केही पढ्न जान थालेको मन्जयले सुनाए। उनका अनुसार त्यतिनैखेर बस्तीमा विद्यालयले विद्यार्थी भर्ना अभियान चलाएपछि बस्तीका बालबालिका विद्यालय जान थाले। भर्ना अभियानका क्रममा शिक्षकले समेत मन्जय उदाहरण बस्तीमा प्रस्तुत गर्थे।

 

हेर्नुहाेस् मुसहर बस्तीका बारेमा मंजय सुदा सँग गरिएकाे कुराकानी

गुजाराका लागि मन्जय फुर्सदको समय बुवाआमासँगै जनवनमा पनि खट्न भ्याउँथे। ‘अरू साथी ट्युसन पढ्थे, मसँग ट्युसन पढ्ने पैसा हुँदैनथ्यो,’ उनले विगत सुनाए, ‘त्यही पनि विद्यालयमा म सदैव टपटेनमै रहे।’ ०७१ मा एसएलसीमा द्वितीय स्थान ल्याए। जहिल्यै पढाइमा प्रतिस्पर्धा गर्न तयार हुने मन्जयलाई विद्यालयले नि:शुल्क पठनपाठन व्यवस्था गरिदिएको छ। जनता उच्च माविका प्रधानाध्यापक दिलीप तिवारीले मन्जय पढाइमा लगनशील र मेहनती विद्यार्थी भएकाले उसको उच्च शिक्षासम्मको अध्ययन विद्यालयले नि:शुल्क गरेको सुनाए। ‘बस्तीमै उनी नमुना विद्यार्थी हुन्,’ उनले भने, ‘विद्यालयमा पनि अब्बल छाप राखेका छन्।’

 

शिक्षा नै ठूलो कुरा बुझेका मन्जयले बस्तीका बालबालिकालाई नि:शुल्क भेला गरेर पढाइरहेका छन्। मुसहर बस्तीमा ५० परिवारका २ सय ७२ सदस्यको बसोबास छ। निर्माण थाल्नुअघि मुसहर गाउँ अशिक्षा, गरिबी अभावलगायत सबैले पछि परेको थियो। यहाँका अधिकांशको गुजाराको माध्यम जनमजदुरीमा खट्नु हो। प्राय: सबै अभिभावक निरक्षर छन्।

 

 

 

प्रतिक्रिया दिनुहोस्