Logo

भयानक कोइलाखानी विस्फोटमा १६ पाकिस्तानीको मृत्यु


पाकिस्तानको बलोचिस्तान प्रान्तस्थित एउटा कोइलाखानीमा भएको दुर्घटनामा कम्तीमा १६ जनाको ज्यान गएको अधिकारीहरूले बताएका छन्।

बिबिसिका अनुसार प्रान्तीय राजधानी क्वेटादेखि करिब ४० किलोमिटर टाढा पर्ने मारवारस्थित कोइलाखानीमा भएको विस्फोटमा अन्य नौजना घाइते भएका छन्।

उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।

क्वेटाबाट एकजना सरकारी अधिकारी जावैद शाहवानीले समाचार संस्था एएफपीलाई भने, “कोइलाखानीमा मिथेन ग्यास विस्फोट हुँदा १६ जना कामदारको ज्यान गएको छ र नौजना घाइते भएका छन्।”

उनका अनुसार घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर छ।

खानीबाट शवहरू निकाल्न टोलीहरू पठाइएको अधिकारीहरूले बताएका छन्।

शाहवानीले थपे, “हामीले शवहरू निकाल्ने भरमग्दुर प्रयास गरिरहेका छौँ। तर अधिकांश शवहरू धेरै भित्र पुरिएकोले निकाल्न केही समय लाग्न सक्छ।”

प्रतिक्रिया दिनुहोस्