Logo

सझंनामा नारायणहिटी राजदरबार हत्याकाण्ड जेठ १९


टीका धमला

ऋतु अनुसार नेपालमा जेठलाई सबैभन्दा उराठदाग्दो महिनाको रूपमा लिइन्छ । त्यसमा पनि २०५८ जेठ १९ गते नारायणहिटी राजदरबारमा एक अकल्पनीय घटनामा राजा वीरेन्द्रको देहावसान भएपछि त नेपालको इतिहासमा यो महिनालाई अशुभ महिना हो कि भन्न पनि लाग्छ ।वीरेन्द्रको शालिनता र राष्ट्रप्रतिको त्याग र तपस्याले गर्दा सबै नेपालीको मनमनमा उहाँको अमिट छाप परेको कसैले नकार्न सक्दैन । देशभित्र मात्र नभई बाह्य जगतमा पनि उहाँको प्रशंसा भएको प्रशस्तै सुन्न र पढ्न पाइन्छ । विदुर नीतिमा भनिए अनुसार ‘एउटा व्यक्तिको आचरणले कुल कस्तो हो भन्ने बुझिन्छ, नेताको भाषणले देश कस्तो छ भन्ने बुझिन्छ’ भनेजस्तै उहाँको सबै आचरण, भाषण तथा सन्देश नेपाल र नेपालीको शिर कहिल्यै झुक्न नदिने खालको अभिव्यञ्जना थियो । उदाहरणका लागि पेरिस सम्मेलनमा अति कम विकसित राष्ट्रहरूको प्रतिनिधिको रूपमा व्यक्त भएको सन्देश, अमेरिकाको राजकीय भ्रमणमा ह्वाइट हाउसमा गरिएको सम्बोधन लगायत कैयौं उदाहरण लिन सकिन्छ ।

राजा वीरेन्द्रको राज्यारोहणका सुरुका दिनहरूबाट नै नेपालको राजनीतिले जटिल रूप लिएको थियो । क्षेत्रीय राजनीतिमा सन् १९७१ मा बंगलादेशको जन्म र १९७२ मा तत्कालीन अमेरिकाका राष्ट्रपति निक्सनको चीन भ्रमणबाट दक्षिण–पूर्वी एसियाको राजनीतिले एउटा नयाँ मोड लियो । फलस्वरूप चीन–भारतबीच रहेको नेपालको सामरिक महत्त्व विशेषगरी पश्चिमा शक्तिहरूका लागि बढ्दै गयो । यसले गर्दा राजा वीरेन्द्रलाई राज्य सञ्चालनमा सुरुका दिनहरूबाट नै छिमेकी र बाह्य शक्तिकेन्द्रहरूसँंग सन्तुलित रूपमा बढ्नुपर्ने चुनौती नै बन्यो । आन्तरिक रूपमा पञ्चायती व्यवस्थाका हस्ती मानिएका सूर्यबहादुर थापा लगायत अन्य नेताहरूबाट कालो टीका लगाएर इटुम्बहाल लगायत अन्य स्थानहरूमा भाषण गरेको यो पङ्क्तिकारले पनि विद्यार्थी छँदा सुनेकै हो । तर राजा वीरेन्द्रले सुरुका दिनबाट शासनकालको अन्तिम घडीसम्म पुग्दा जस्तोसुकै समस्यालाई पनि कत्ति पनि विचलित नभई नेपालको शान, मान एवं प्रतिष्ठा राख्नुभएकै थियो ।
अहिलेको अवस्थामा नेपालको भूराजनीतिक महत्त्व दुवै छिमेकी देश र बाह्य शक्तिकेन्द्रहरूको नजरमा पनि दिनानुदिन बढ्दै गएको देखिन्छ । नेपाल गणितीय रूपमा संघीयतामा गइसकेको अवस्थामा मेचीदेखि महाकाली र तराईदेखि हिमालसम्म एकै सूत्रमा बाँधिएर शान्ति र विकास होला कि नहोला भन्ने शंका गर्ने प्रशस्तै ठाउँ छन् । यस अवस्थामा भोलिका दिनमा नेपालले फेरि राजा वीरेन्द्रको सपना साकार पार्न नेपाललाई शान्ति क्षेत्र घोषणा गरियोस् भनी संयुक्त राष्ट्र संघमा प्रस्ताव गर्नु नपर्ला भन्न सकिन्न ।

आजको नेपालको अवस्था हेर्दा संघीयताको नाममा एक नेपाली समुदाय अर्को समुदायसंँग मिसिनै नहुनेगरी फाटो हुने र गराउने काम भएको छ । दक्षिणको समथर भाग उत्तरको पहाडसँंग जोडिनै नहुने, गुरुङ, मगर, राई, लिम्बु, क्षत्री, बाहुन मिसिनै नहुने कस्तो संघीयता हो ? तसर्थ अबको नेतृत्वले राजा वीरेन्द्रले जस्तै उदार दिल र व्यवहारले सबैलाई समेटेर आन्तरिक राजनीतिक समस्याको समाधान गर्न सक्नुपर्छ । विदेश नीति र छिमेकीसँंगको व्यवहारमा पनि उहाँकै पाइला पछ्याउनु व्यावहारिक हुनेछ । आजको कान्तिपुरमा छापिएको धमलाको आलेखको अशं]’

प्रतिक्रिया दिनुहोस्