Logo

हामी नेपालीः विदेशमा पनि नेपाली राजनीति!


अनिल पाण्डे/ पछिल्लो एक–डेढ दशकयता विश्वमा नेपालीको उपस्थिति उल्लेख्य छ । अमेरिका, क्यानडा, अस्ट्रेलिया र युरोपजस्ता विकसित मुलुक तथा महादेशमा पुगेर अल्पविकसित नेपालका नागरिकले आफुले सकेको स्तरको मेहनत गरेका छन् । आफ्नो क्षेत्रमा पहिचान बनाउन उनीहरुले के–कस्ता चुनौतीसँग सामना गर्नुपर्यो, यी विषयमा विश्लेषण गर्न आवश्यक छ ।

इमान्दारीका साथ परिश्रममा लागेर पहिचान बनाउने काममा गोर्खाली सेनादेखि नै नेपाल र  नेपालीलाई विश्वले चिनेको छ । युरोपमा नेपाल र नेपालीभन्दा नचिन्ने तर गोर्खाली भन्दा चिन्ने नागरिकहरु धेरै भेटिन्छन् । गोर्खाली भएर चिनिनुको साथै सगरमाथा र गौतम बुद्धका नामले नेपाल चिनाउने जस्तो सजिलो काम होइन । आफै मेहनत र परिश्रम गरेर पहिचान बनाएपछि बल्ल बन्छ गौरव गर्न लायक चिनारी । सगरमाथा र गौतम बुद्धप्रति गौरव गर्नु त ठीकै हो, तर विश्वका नागरिकका अगाडि उभिएर त्यसकै आधारमा मात्र गौरव प्रदर्शन गर्नु चाहिं अब कमजोरी हो कि? के सगरमाथा अग्लो बनाउन र सिद्धार्थ गौतम बुद्धलाई नेपालमा जन्माउन नेपालीको योगदान थियो र? आफ्नो योगदान नै नभएको विषयमा गौरव गर्नु भनेको पाखण्ड हो जस्तो मलाइ लाग्दछ । यस्ता तथाकथित गौरवका आधारले विश्वलाई हँसाउँछ । ‘मेरा पुर्खाले घिउ खाएका थिए, त्यसैले मेरो हात सुँघ, अहिले पनि त्यसको बासना आउँछ’ भनेर धाक लगाएजस्तै हो ।

नेपालीले धाक लगाउने हो भने अल्पविकसित मुलुकको नागरिक भएर पनि आफ्नै जीवनमा विश्वका विकसित मुलुकमा पुगेर बनाएको पहिचानको विषय नै हो । एनआरएनएका संस्थापक अध्यक्ष उपेन्द्र महतो, अर्का अध्यक्ष शेष घले र दर्जनौं यस्ता अरु आप्रवासी नेपालीले आफ्नो जीवनमा मेहनत गरे, समाजसेवामा लगानी गरे, आफ्नो जन्मभूमिलाई सेवा पुर्याए । साँच्चै भन्ने हो भने, यी हुन् गर्व गर्ने विषय । यस्तै, हामीले राज्यका हरेक निकायमा महिलाको सहभागिता कम्तीमा ३३ प्रतिशत बनायौं, यौनिक तथा लैङ्गिक अल्पसंख्यकलाई समेत पहिचान खुल्नेगरी नागरिकता र पासपोर्ट दिने अभ्यास गर्यौं, र अहिले को परिवेशलार्इ नियालेर भन्ने हो भने,लाक्पा शेर्पा, कामीरिता शेर्पा, पाषाङल्हामु शेर्पा, सन्दुक रुइत, सन्दीप लामिछाने आदिको नाम लिएर हामी देशबाहिर चिनिन सक्छौं । जुन पहिचानका लागि नेपालीको मेहनत परेको छ, त्यसमा विश्वले प्रशंसा गर्नैपर्छ ।

पहिचान बनाउने, चिनिने र अरुको ध्यान आफूतिर आकर्षित गर्ने कार्य नेपालभित्र रहेका नेपालीलाई भन्दा बाहिर पुगेका नेपालीका लागि बढी संवेदनशील हुनेगर्दछ । किनभने नेपालीको व्यवहारसँग मातृभूमि नेपालको नाम गाँसिएको हुन्छ । विदेशी भूमिमा आएर एक नेपालीले सानो मात्र गलत काम गरेको सार्वजनिक भएपनि आप्रवासी नेपालीको शिर निहुरिन्छ, मुख तीतो भएर आउँछ, अरुका अगाडि कसरी मुख देखाउने भन्ने चुनौती थपिन्छ । यसको ठीक विपरीत कुनै नेपालीले राम्रो काम गरेको खबर प्रकाशित–प्रसारित हुँदा गौरवले छाती चौडा हुन्छ । हामीले सकभर सबै नेपालीको छाती तन्किने काम गर्नुछ, होइन भने पनि शिर निहुरिने कामबाट बच्नु परछ । पहिलो श्रेणीको नागरिक बन्न निकै चुनौती छ, सजिलो छैन । तर, पछिल्लो काम गर्न तुलनात्मक रुपमा गाह्रो छैन । आम नागरिकले गर्ने स्वाभाविक काम गरियो, कानुन मिचिएन र औशत व्यवहारमा अभ्यस्त हुनसकियो भने पुग्छ । तर, आप्रवासी नेपालीमध्ये कतिपय व्यक्तिहरु नेपालको दलीय राजनीति विदेशमा भित्र्याएर विभाजित भएका छौं । नेपालका जात–भात, क्षेत्रीयता, धार्मिक असहिष्णुता र वर्गीय पहिचान बोकेर मात्र हिंडेका छैनौं, त्यसका आधारमा विभाजित बनेका छौं, एक नेपालीले अर्को नेपालीलाई असहयोग मात्र गरेका छैनौं खुट्टो तेर्साएर लडाउने असभ्यता पनि देखाएका छौं ।

विदेशीले ‘मिलेर बस्न नजान्ने झगडालु जाति नेपाली’भनेर गाली गरेको पनि सहेका छौं तर आफूलाई परिवर्तन गर्न सकिरहेका छैनौं । के यी प्रवृत्तिलाई त्याग्न नसक्ने हामीलाई सगरमाथा र गौतमबुद्धको नाम लिने नैतिक अधिकार छ रु उपेन्द्र, कामीरिता, सन्दुक, सन्दीप आदिको नाम लिने त परको कुरा!  यो आलेख तयार पार्ने क्रममा मैले गुगललाई नेपाली डायस्पोरामा भएका गतिविधि खोजिदिन अनुरोध गरें । उसले खोजेका केही सन्दर्भमध्ये एक थियोः ‘कन्सर्न नेपाल क्यानाडाले नेपाल र नेपालीको विकासमा के कस्तो योगदान गर्न सकिन्छ भन्ने विषयमा अन्तरक्रिया’आयो र उक्त समाचार देखापर्यो । विदेशमा गएपछि अर्थात् मात्रृभूमिबाट टाढा भएपछि जन्मस्थलप्रति केही राम्रो भूमिका निर्वाह गरौं भन्ने भावना जागृत हुनु स्वाभाविक हो । र यही भावनाका कारण यो पक्तिकारको पहलमा करिब डेढ दशकअघि अमेरिकामा मदरल्याण्ड नेपाल नामक सामाजिक संस्था खुलेको र नेपालमा आवश्यकताको अवस्थाका सञ्चारकर्मीलगायत धेरैलाई यसले सघाएको म स्मरण गर्दछु । मदरल्याण्ड नेपालले अहिले लैङ्गिक समानता पत्रकारिता पुरस्कारको स्थापना गरेर नेपाल पत्रकार महासंघको अभिभावकत्वमा वार्षिक रुपमा पुरस्कार प्रदान गर्दैआएको छ । नेपाल छोडेपछि नेपालप्रति केही योगदान दिने चाहना कस्तो हुन्छ, त्यसको उदाहरण लेखकस्वयं छ । त्यसैले लेखक यस भावनाको स्वागत गर्छ । क्यानडाको छलफलको निष्कर्ष यस पक्तिकारको पनि निष्कर्ष हो–पर्यटन तथा जलस्रोत–उर्जामा लगानी गरेर विदेशमा रहेका नेपालीले मातृभूमिको सेवा गर्ने र आफ्नो आर्थिक स्रोत बढाउने काम गर्नसक्छन् । त्यस्तै, सोही अन्तरक्रियामा उठेको एक विषयमा लेखकको पनि सहमति छ, ‘नेपाली–नेपालीबीच मेलमिलाप हुनुपर्छ, अन्यथा विदेशी भूमिमा हामी जेनोफोबिक मानसिकताको शिकार हुनसक्छौं । नेपालभित्रको दलीय राजनीति र अन्य आधारमा सात समुद्रपारि बसेर विभाजित हुनु दुर्भाग्यपूर्ण छ ।

अमेरिकी मनोवैज्ञानिक स्किनरको मान्यताअनुसार व्याक्तिको आचरण उसको सामाजिक वातावरण र परिवेशले निर्धारण गर्छ । रगत वा नश्लले भन्दा बढी व्यक्ति सामाजिक परिवेशबाट प्रभावित हुन्छ । ‘नेपाली मूलका प्रवासीहरु अमेरिका लगायत अरु धेरै मुलुकहरुमा नेपालमा जत्तिकै राजनीतिमा अल्झिएका देखिन्छन्, अमेरिकाजस्तो मुलुकमा आएपछि पनि गैरआवासीय नेपाली नेपालको राजनीतिको दलदलमा फसेका छन्’ १२ खरी अनलाइनको एक आलेखमा उल्लेख– ‘अमेरिकामा भासिए पछि अमेरिकाको मूल धारको राजनीतिमा प्रवेश गर्न किन मरिहत्ते गर्दैनौ? किनभने अमेरिकाको राजनीति सरल छैन, नाताबाद र कृपावादले काम गर्दैन ।’

आजको सबैभन्दा महत्वको विषय विदेशीका अगाडि नेपाल र नेपालीको छवि समृद्ध बनाउन गम्भीर हुनु नै हो । प्रवासी नेपालीले एक–अर्कामा सघाउनु र ऐक्यवद्धता जनाउनु आवश्यक छ । यो कुनै थप मेहनत र लगानीको विषय पनि होइन, केबल प्रवृत्तिमा परिवर्तन ल्याए पुग्छ । समयको मागलाई पहिचान गरेर बाँनी–व्यवहारमा परिवर्तन ल्याऔं, विनाकुनै लगानी मातृभूमिको सेवा गरौं । आपसमा एकता र सहयोगको प्रदर्शनले मात्र मातृभूमिको सेवा हुने भएपछि कोही किन देशभक्त अथवा रास्ट्र भक्त (हामि नेपालि) नहुने!

प्रतिक्रिया दिनुहोस्