Logo

दशैंका लागि नयाँ नोट २१ गतेदेखि वितरण गरिने, नोटमा लेखे जेल सजाय


दशैंका लागि नयाँ नोट आगामी २१ गतेदेखि सर्वसाधारणलाई वितरण गरिने भएको छ । नेपाल राष्ट्र बैंकले आगामी २१ गतेदेखि २९ गतेसम्म सर्वसाधारणहरुले नयाँ नोट साट्न पाउने जानकारी गराएको हो । नयाँ नोट ५, १०, २०, ५० रुपैयाँ दरका नयाँ २-२ प्याकेट र १ सय रुपैयाँ दरका एक प्याकेट गरी जम्मा २७ हजार रुपैयाँसम्म प्रतिव्यक्ति सटही सुविधा दिने राष्ट्र बैंकले जनाएको छ ।

कहाँ-कहाँ पाइन्छ त नोट साट्न
राष्ट्र बैंकले आफ्ना क्षेत्रीय कार्यालय तथा केही वाणिज्य बैंकहरुबाट समेत सर्वसाधारणले सटही सुविधा पाउने बताएको छ ।राष्ट्र बैंकका अनुसार नेपाल बैंकको न्यूरोड, किर्तिपुर, महाराजगञ्ज, जोरपाटी, पाटन औद्योगिक क्षेत्र, लाजिम्पाट र भक्तपुर शाखाबाट सटही सुविधा हुनेछ भने राष्ट्रिय वाणिज्य बैंक तथा कृषि विकास बैंकका काठमाडौं उपत्काभित्र रहेका शाखाहरुबाट समेत सर्वसाधारणले नयाँ नोट सटही गर्न पाउनेछन् ।उपत्यका बाहिरको हकमा राष्ट्र बैंकका क्षेत्रीय कार्यालय सहित नोट कोष रहेका वाणिज्य बैंकका शाखाबाट समेत सटही सुविधा उपलब्ध हुनेछ ।

नोटमा लेखे जेल सजाय
नयाँ नोटमा केरमेट तथा काम नलाग्ने गरी जथाभावी प्रयोग नगर्न राष्ट्र बैंकले अनुरोध गरेको छ । नोट जलाउने, केरमेट गर्ने तथा काम नलाग्ने बनाउनु गैर कानूनी भएको र त्यसो गरे ३ महिनासम्म जेल सजाय समेत हुनसक्ने भन्दै सचेत रहन राष्ट्र बैंकले अनुरोध गरेको हो ।गत भदौ १ गतेदेखि लागू भएको मुलुकी अपराध ९संहिता० ऐन को दफा २६३ मा नोटमा केरमेट गरे जलाए तथा नोटमा विभिन्न किसिमले हानि नोक्सानी पुर्‍याए ३ महिनासम्म कैद र ५ हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्