Logo

बेजोड कविता : मध्यरातमा उडेको जहाज


रुपेश श्रेष्ठ

मध्यरातमा उड्यो
विशाल यात्राको गर्जनसहित
एउटा निर्जीव हवाइजहाज ।

पखेटा फिंजाएर जब उड्यो जहाज
जहाजसँगै उडे केही थान सपना
जहाजसँगै उडे केही थान भविष्य

भेट्ला जहाजले कतै न कतै
चिल्लो चाक्लो यारपोर्ट
जहाजसँगै उडेका सपना
जहाजसँगै उडेका भविष्यहरुले
कहाँ पुगेर भेट्लान
उस्तै सुन्दर झिलीमिली बिसाउनी ?

जहाजको हेडलाइट हेर्दै
कतिञ्जेल हल्लिरहन्छन् होला
कहिल्यै नदेखिएको उज्यालोतिर फर्केर रित्ता हातहरु
रोकदारोक्दै नथामिएका आँसुहरु ढिक्काहरु
पीडाको चेपचेपमा कतिञ्जेल सुँकसुकाइहल्छन् होला
जहाज फर्किने आकाशको बाटो हेर्दै ।

होहल्ला गर्दै जब उड्यो एउटा हवाइजहाज
बा’सँगका घच्चामच्चीहरु बिलाए जहाजसँगै
आमासँगका घुर्कीमुर्कीहरु हराए जहाजसँगै
हुरीपछिको सन्नाट्टा पस्यो मायालुका मुटुमा
जसै टाढाटाढा हुँदै गयो जहाज
फुस्किँदै गए औंलामा कस्सिएका प्रेमका औंठीहरु
जसै जहाजको चर्को स्वर मर्दै गयो
शनैशनै हुर्किदै यो संशयको साउती ।

जहाज त एकदिन फर्केर आउला नै
तारामण्डल ताकेर उडेको हवाइजहाजसँगै
निदरीमै तारामण्डलको भव्यतामा हराएका
मसिना नानीहरु फर्केर आउलान् कि नआउलान् ?
जहाजको गर्जनले उडेका आमाहरुको सातो
जहाजसँगै उडेका छोरासँग फर्केलान कि नफर्केलान ?
जहाजले जमिन छोड्दा भरोसा छाडेका बा’हरुको भरोसा
जहाजसँगै उडेका छा्रीहरुसँगै आउलान् कि नआउलान् ?

अँध्यारोमा उडेको जहाजले
फर्किदा उज्यालो ल्याउँछ कि
ल्याउँछ त्यही अँध्यारो ?
सपनाहरुको त के कुरा भो र ?
ज्हाजसँगै उडेका भविष्यहरु
सुटकेससँगै हाँस्दै आउलान्
व बाकसबन्द निदाएर आउलान ?

प्रतिक्रिया दिनुहोस्