Logo

राम, राम भन्न सकिन्छ देउवा काँग्रेसलाई काँध थाप्न सकिन्न्


संभवत नेपाली काँग्रेस जीवनकै सबैभन्दा कठिन मोडमा छ अहिले । वाम गठबन्धन विरुद्ध चुनावमा कमजोर देखिएको काँग्रेस पार्टीभित्र पनि लोकतान्त्रिक अभ्यास कमजोर हुदैछ । केही नेता तथा कार्यकर्ताहरु बोल्न त बोल्छन तर उनीहरुको आवाज अत्यन्तै मलिनो छ । त्यसको सुनुवाई कहिल्यै हुदैन । धेरैलाई लागेको छ, के नेपाली काँग्रेस यसरी चल्छ र ? केही ले उत्तर दिन्छन, चलेकै छ । तर मान्नु होस अब काँग्रेस यसरी चल्दैन । केही नेताले यो कुरा अभिव्यक्त पनि गरेका छन तर धेरैलाई थाहा हुदाँहुँदै पनि पार्टी नेत्तृवसँग किन सम्बन्ध बिगार्ने भन्ने छ ।

नेपाली काँग्रेस अहिले कम्तिमा ५ गुटबाट ग्रस्त छ ।

पहिलो पार्टी सभापति शेरबहादुर देउवा गुट । देउवा पार्टी सभापति भएपनि उनी एउटा गुटभन्दा माथि कहिल्यै उठन सकेका छैनन् । उनलाई सहयोग गर्नेका पनि केही निश्चित बर्ग छन् । जस्तो कि सुदुरपश्चिमको समुह । कर्णाली पुल पारीको प्रायः सबै काँग्रेसले देउवालाई समर्थन गर्ने समुह छ । एनपी साउद, रमेश लेखक, नैनसिहं महर र अन्य स्थापित सबै सुदुरपश्चिमका नेताले उनीबाहेक अर्को कल्पना गर्दैनन् । तर यो पार्टी नेता दिलेन्द्रपसाद बडु अपवाद भएर रहेका छन् ।

देउवालाई साथ दिने अर्को समुह छ, पैसावालाको । गोपालमान श्रेष्ठ, चित्रालेखा यादव र बिमलेन्द्र निधि जस्ता नेताहरु यो घेरामा छन् । उनीहरुलाई विचार, सिद्धान्त, अहिलेको परिवेश जस्ता बिषयसँग खास केही लेनदेन छैन । केवल देउवा बलियो हुनुपर्छ ।

देउवालाई अकाट्य सहयोग गर्ने अर्को महत्वपुर्ण तत्व श्रीमती आरजु राणा लाईन । विदेशी एजेन्सीका राम्रो निकायमा संगठित जागिर गर्नेहरु, डा प्रकाशशरण महत र बालकृष्ण खाँड, मोहनबहादुर बस्नेतजस्ता खेलाडीहरु यो समुहमा छन् । यिनको काम गणेश प्रवृति अपनाएर देउवा र आरजुबाट सकेजति फाइदा लिने र दोहन गर्ने । तसर्थ देउवा पनि धेरै घेराबाट घेरिएर एउटा बलियो गुट परिचालन गर्छन् ।

नेपाली काँग्रेसमा अर्को गुट छ कोइराला परिवारको । यो कोइराला परिवारको लेगेसीबाट निर्देशित छ । हामी काँग्रेसको लिडरसिपमा नहुने हो भने पार्टी सकिन्छ र देशको राजनीति लिक बाहिर जान्छ भन्ने यो समुहको आन्तिरक निष्र्कष छ । तर, विपी पुत्र शशांक कोइराला, सुजाता कोइराला र शेखर कोइरालाहरुको आफ्नै सागंठनिक कमजोर हैसियतका कारण पनि यो गुट बलियो हुन सकेको छैन । तर नेपाली काँग्रेसका शुभचिन्तक र शुभेच्छुकहरु प्नि शेखर कोइराला पार्टीमा स्थापित होऊन र पार्टीलाई नेत्तृव गरुन भन्ने चाहन्छन् ।

तेस्रो गुट रामचन्द्र पौडेलको । काँग्रेसको हुतिहारा गुट हो यो । यो रुन्चे गुट पनि । कहिल्यै दह्रोसँग केही प्रस्तुति गर्न नसक्ने तर गनगन भने गर्न नछोड्ने समुह हो । रामचन्द्र पौडेल, पार्टी कोषाध्यक्ष सीतादेवी यादव, प्रकाशमान सिहं र पौडेलका निकटवर्ती केही नेताहरु यो समुहमा छन् ।

अर्को गुट छ, कृष्ण सिटौलाहरुको । यसमा गगन थापालगायतका नेताहरु पनि छन् जसलाई बाहिरी आवरण युवाहरुको समुह पनि भन्ने गर्छन् ।

त्यसैगरि, खुमबहादुर खड्का, विनयध्वज चन्द, लक्ष्मण घिमिरे, बलबहादुर केसी, केबी गुरुड्डजस्ता नेताहरु छन् जो काँग्रेसका गहना त हुन तर अहिले न यिनीहरुसगँ संगठन छ, न सक्रियता नै । तर यो एउटा दह्रो गुट हो जसले काँग्रेसको निर्णय प्रक्रियामा तरगं पैदा गर्छ ।

अर्को गुट पनि व्याप्त छ काँग्रेसमा । यो मौका नपाएको र काँग्रेसभित्रकै प्रतिपक्षी हो । चन्द्र भण्डारी, धनराज गुरुड्ड, विश्वप्रकाश शर्मा, गुरु घिमिरे, प्रदिप पौडेल लगायतको समुह छ । यो समुहलाई गगन थापा वा कृष्ण सिटौला नजिक पनि जोडेर हेरिन्छ तर वास्तविकता के हो भने कृष्ण र सिटौला पार्टीमा घुक्र्याएरै भए पनि लाभका पदमा मोज गरिसकेका छन् ।

तसर्थ, काँग्रेस अब शक्तिहीन, गतिहीन, दिशाहीन र निर्जीव दलको रुपमा स्थापित हुने पो हो कि भन्ने चिन्ता लाग्नु स्वाभाविक छ । तर यसो हुन नदिन केही प्रयासहरु शुरु भएका छन् ।

तर समय धेरै घर्किसकेको छ । किनकी काँग्रेसजनले यस अघिनै देउवालाई पार्टीमा मौलाउँदै गएको धनवाद र डनबादको विपक्षीमा सचेत नगराएको परिणाम काँग्रेस अहिले भोग्न अभिसप्त छ । राजदुत बनाउँदा पैसाको ठुलो सुटकेसँग साट्ने र सांसद बनाउँदा पार्टी खर्च धान्ने नाममा करोडौं रकम लिएर काँग्रेसमा नै योगदान गरेकाहरुलाई पाखा लगाउँदाको नतिजा हो यो ।

शनिवारमात्र नेता गगन थापाले ले देउवा विरुद्ध धावा बोलेका छन् । उनले फालेको पासा के हो भने अहिलेको परिवेशमा पार्टी सभापति र संसदीय दलको नेता एउटै व्यक्ति हुनु उपयुक्त छैन भन्ने हो । यो सिधै भाषामा नभनिएपनि देउवाको विकल्प खोजिएको हो ।

थापाले चितवनमा पार्टीलाई पूर्ववत् अवस्थामा फर्काउनुपर्ने महत्वपूर्ण जिम्मेवारी रहेको र दुई तिहाई बहुमत पु¥याउन लागेको कम्युनिष्ट सरकारसँग संसद्मा भिड्नुपर्ने भएकाले एकै व्यक्तिले दुई मोर्चामा रहेर काम गर्न नसक्ने भनेर देउवामाथि धावा बोलेका छन् । गगनको यो भनाईलाई देउवाले पनि सोझै प्रतिवाद गरेका छन्, त्यो पनि रामचन्द्र पौडेल खेमालाई संसदीय दलको उपनेता दिने प्रस्ताव गरेर ।

संसदीय दलको नेताको लागि आइतवार मनोनयन दर्ता हुँदैछ र २० गते सांसदको हैसियतमा सपथ लिएपछि २१ गते कांग्रेस संसदीय दलको नेताको चुनाव हुने छ। काँग्रेस निकट एक अनलाईन पत्रिकाले देउवाले आफ्ना दुतहरु पठाएर वरिष्ठ नेता रामचन्द्र पौडेलसँग छलफल गरेको र नेताहरु गोपालमान श्रेष्ठ र रमेश लेखकलाई पठाएर संसदीय दलमा आफूलाई सर्वम्मत बनाउनको लागि पौडेलसँग आग्रह गरेका समचार लेखेको छ ।

तसर्थ, काँग्रेस अहिले एकदम कमजोर शक्ति मात्र होइन विकल्प पनि प्रस्तुत गर्न नसक्ने निकम्मा साबित पो हुने हो कि भन्ने डर व्याप्त भएको छ ।

अब राम, राम भन्न सकिन्छ । तर नेपाली काँग्रेसलाई काँध थाप्न सकिन्न् ।

प्रतिक्रिया दिनुहोस्