Logo

ओलीलाई प्रधानमन्त्री नियुक्त गर्न वाम गठबन्धनले राष्ट्रपतिलाई पत्र बुझाउँदै


वाम गठबन्धनले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री नियुक्त गर्न आग्रह सहितको पत्र आज राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाउँदैछ ।

प्रतिनिधिसभामा सवैभन्दा ठुलो दल रहेको एमाले अध्यक्ष ओलीलाई बहुमत सदस्यको समर्थन रहेको जानकारी सहितको पत्र अहिले केहीबेरमा शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा बुझाउन लागिएको अध्यक्ष ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो ।  शीतल निवास स्रोतकाअनुसार, राष्ट्रपति भण्डारीले आजै एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्री नियुक्त गर्दै अपरान्ह सपथको तयारी समेत भएको छ ।

वाम गठबन्धनको हिजो बसेको बैठकले अध्यक्ष ओलीको नेतृत्वमा सरकार गठन गर्ने सहमति गरेका थिए । सो अघि बसेको एमाले स्थायी समिति बैठकले समेत अध्यक्ष ओलीलाई प्रधानमन्त्रीका रुपमा अघि सार्ने निर्णय गरेको थियो ।  प्रतिनिधिसभामा एमालेको १ सय २१ र माओवादी केन्द्रको ५३ गरी १ सय ७४ सिट छ । २ सय ७५ सदस्यीय प्रतिनिधिसभामा सरकार गठनका लागि १ सय ३८ सिट आवश्यक पर्छ । प्रतिनिधिसभामा वाम गठबन्धनको स्पष्ट बुहमत छ ।

बहुमत प्राप्त दलका नेतालाई प्रधानमन्त्री नियुक्त गर्ने संवैधानिक व्यवस्थाअनुसार राष्ट्रपतिले एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्री नियुक्त गर्नुहुनेछ । गठबन्धनमा राष्ट्रिय जनमोर्चासहितका केही दल सहभागी भएपनि एमाले र माओवादी केन्द्रमात्र सरकारमा सहभागी हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्