Logo

प्रेरक प्रसंगः गुरु नानकको आशीर्वाद


गुरु नानक विभिन्न गाउँ गाउँको भ्रमण गरिरहन्थे । एकपटक उनी आफ्ना शिष्यसँग एउटा गाउँमा पुग । त्यहाँका मानिस धेरै उदार र सज्जन थिए । उनले गुरु नानकको खुव सेवा गरे । जाने बेलामा प्रसन्न भई गुरु नानकले गाउँलेहरुलाई आर्शिवाद दिए, ‘तिमीहरुको गाउँ छिटो नै उजाड होस् र तिमीहरु सबै अलग अलग गाउँमा बस्नुपरोस् ।’

गुरु नानकका शिष्यलाई उनको यस्तो भनाइप्रति आश्चर्य लाग्यो तर उनीहरुले मुख फोरेर केही सोधेनन् । सो गाँउबाट बिदा भएर जाँदा जाँदा उनीहरु अर्को गाँउमा पुगे । त्यहाँका मानिसहरु धेरै स्वार्थी र उपद्रवी थिए । त्यहाँका मानिसहरुले उनीहरुको आदर सत्कार त कुरैं छोडौं, कसैले उनलाई बस्न आग्रहसमेत गरेनन् । केही मानिसले त उनलाई ढुंगाले समेत हिर्काए ।

यति भए पनि उनले ती गाँउलेलाई आर्शिवाद दिए, तिमीहरुको गाउँ आवाद रहोस् र तिमीहरु सदा यसै गाउँमा बस्नु’ । उनको यस्तो आर्शिवाद सुनेपछि शिष्यहरु चुप लागेर रहन सकेनन् । उनीहरुले सोधे, ‘गुरु, जुन गाउँमा तपाईको स्वागत सत्कार भयो, त्यहाँका मानिसलाई गाउँ नै सखाप हुने श्राप दिनुभयो र जुन गाउँका मानिस उपद्रवी छन्, उनीहरुलाई चाहिँ आबाद हुने आर्शिवाद दिनुभयो । यस्तो किन ? हामी बडो अलमलमा पर्यौं गुरु ।’

शिष्यहरुको जिज्ञासा सुनेपछि गुरु नानकले उनीहरुलाई बुझाउदँै भने, ‘राम्रा मानिसले जहाँ गएपनि राम्रो कुरा सिकाउँछन् तर यदि नराम्रा मानिस आफ्नो गाउँ छाडेर अर्को गाउँमा ग एभने उनीहरुले नराम्रो कुरा नै सिकाउँछन् । त्यस्तो भयो भने नराम्रो मात्र फैलिनेछ । यसैले मैले राम्रो मानिसको बस्तीलाई उजाडियोस भनेँ, ताकि उनीहरु चारैतिर फैलिऊन र केही राम्रो कुरा सिकाऊन । नराम्रा मानिस एकै ठाउँमा बसुन् ताकि उनीहरुले आफ्नो दुर्गुणको प्रचार गर्न नसकुन् । गुरु नानकका यस्ता कुराहरु सुनेर शिष्यहरु दंग परे ।

प्रतिक्रिया दिनुहोस्