Logo

हिरो गोल्डकप फुटबल: नेपालले भारतलाई २–१ गोलले हरायाे


भारतको उडिसामा भैरहेको हिरो गोल्डकप फुटबल प्रतियोगिता अन्तरर्गत नेपालले भारतलाई २–१ गोलले हराएको छ ।भुवनेश्वरको कालिङ्गा रंगशालामा भएको खेलमा नेपालले भारतलाई दुई–एकले हराएको हो । खेल सुुरु भएको पाँचौ मिनेटमै नेपालका लागि सावित्रा भण्डारीले गोल गर्दै अग्रता दिलाएकी थिइन् ।त्यसको एक मिनेटमै फेरि नेपाली खेलाडीले प्रहार गरेको बललाई भारतीय गोलकीपर अदिती चौहानले नै जाली चुमाइन् । उपहार गोलमार्फत नेपालले अग्रता दोब्बर बनायो ।

खेलको ८४औँ मिनेटमा भारतका लागि रत्नाबाला देवीले फ्रीकिकमार्फत गोल गरिन् ।पहिलो खेलमा म्यानमारसँग तीन(शून्यले पराजित भएको नेपाल विजय लक्ष्यका साथ मैदान उत्रिएको थियो । जितसँगै म्यानमारले तालिकामा तीन अंक जोडेको थियो । नेपालले आजको जितसँगै तीन अंक जोडेको छ । आजको खेलमा जित हात पारेसँगै नेपालको उपाधि होड कायमै छ । आउँदो बुधबार नेपालले इरानसँग खेल्नेछ ।आजै भएको अर्को खेलमा म्यानमारले इरानलाई २-० ले हराएको थियो । आजको जितसँगै अंकतालिकामा म्यानमारको ६ अंक भएको छ भने दुवै खेल हारेको इरान भने अंकविहीन रहेको छ । पहिलो खेलमा इरानलाई हराएको भारतको पनि तीन अंक रहेको छ । प्रतियोगितामा आयोजक भारतसहित नेपाल, म्यानमार र इरान रहेका छन् । साफ र ओलम्पिक छनोटको तयारीस्वरुप भारतले प्रतियोगिताको आयोजना गरेको हो ।

प्रतिक्रिया दिनुहोस्