Logo

यस्तो छ पर्यटनमन्त्री भट्टराईकाे राजनीतिक यात्रा, स्ववियु सभापतिदेखि मन्त्रीसम्म


विसं २०७४ मा भएको प्रतिनिधिसभा निर्वाचनको प्रचारप्रसारका क्रममा ताप्लेजुङमा भएको चुनावीसभालाई सम्बोधन गर्दै तत्कालीन नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले ‘योगेशलाई जिताएर पठाउनुहोस्, म मन्त्री बनाउँछु’ भन्नुभएको थियो । निर्वाचनका क्रममा भट्टराई अत्यधिक मतका साथ विजयी हुनुभयो । प्रतिनिधिसभा निर्वाचनमा तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) वाम गठबन्धनले झण्डै दुई तिहाइ मत प्राप्त गर्‍यो । लगत्तै अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा मन्त्रिमण्डल गठन भयो ।

सो मन्त्रिमण्डलमा भट्टराई समेटिनुभएन । वाचाअनुसारको प्रतिबद्धता पूरा नभएको भन्दै कहिलेकाहीँ आलोचना पनि हुने गरेको थियो । अहिले आएर पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीको भनाइअनुसार भट्टराई मन्त्री बन्नुभएको छ । प्रधानमन्त्री ओलीले बुधबार भट्टराईलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीमा नियुक्त गर्नुभएको छ । आमा महेन्द्रादेवी र बुबा स्व भीमलालका कान्छा छोराका रूपमा मध्यमवर्गीय परिवारमा उहाँको जन्म भएको थियो । उहाँ दुई वर्षको छँदा नै बुबा बित्नुभएको थियो ।मैवाखोला गाउँपालिकास्थित नारायणी निमाविमा कक्षा ७ सम्मको पढाइ सकेपछि उहाँले सङ्खुवासभाको मादी माविबाट एसएलसी उत्तीर्ण गर्नुभयो । विसं २०३६ को विद्यार्थी आन्दोलनको रापताप विस्तारै गाउँसम्म फैलिँदै थियो ।पञ्चायती व्यवस्थाविरुद्ध गाउँगाउँबाट उठ्नुपर्ने सन्देश मादीसम्म त्यतिबेला पुगिसकेको थियो । पञ्चायती व्यवस्थाविरुद्ध २०३७ चैत १४ मा पहिलोपटक अनेरास्ववियुले आयोजना गरेको अमहड्तालमा उहाँ सक्रिय सहभागी हुनुभयो । संगठित हिसाबले उहाँको राजनीतिक यात्राको आरम्भ पनि त्यही थियो ।

 

एसएलसीपछि उच्च शिक्षाका लागि विसं २०४० मा मन्त्री भट्टराई राजधानीको ताहाचलस्थित महेन्द्ररत्न बहुमुखी क्याम्पसमा भर्ना हुनुभयो । पञ्चायती व्यवस्था विरोधी आन्दोलनका क्रममा (विषाक्त दूधका विरुद्धको आन्दोलन) १८ वर्षको उमेरमा नै उहाँ पहिलोपटक काठमाडौँको केन्द्रीय कारागारमा थुनिनुभएको थियो । विसं २०४१ मा महेन्द्ररत्न क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा उपसभापति र विसं २०४३ मा सभापतिमा विजयी हुनुभयो ।पञ्चायती व्यवस्था र राजतन्त्रविरुद्ध दृढतापूर्वक अघि बढ्दै जाँदा उहाँले थुप्रैपटक जेलनेल र कठोर यातनासमेत भोग्नुभएको थियो । जेल बसाइँका बेला झापा सङ्घर्षका चर्चित अगुवा हालका प्रधानमन्त्री ओली, आरके मैनाली, मोहनचन्द्र अधिकारीलगायत राजनीतिक बन्दीसँग नजिकबाट अन्तक्रिया गर्ने अवसर उहाँले पाउनुभएको थियो ।

 

मन्त्री भट्टराईले अनेरास्ववियुको काठमाडौँ जिल्ला कमिटीको सदस्य तथा वाग्मती अञ्चल कमिटीको सचिवको जिम्मेवारी सफलतापूर्वक निर्वाह गर्नुभयो । उहाँले त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्ररमानवशास्त्रमा स्नातकोत्तर गर्नुभएको छ ।उहाँ विसं २०४६ को जनआन्दोलनमा सक्रियरूपमा सहभागी हुनुभयो । विसं २०४६ देखि अनेरास्ववियूको केन्द्रीय कमिटीमा काम गर्नुभएका उहाँ सङ्गठनको कार्यालय सचिव, प्रचार विभाग प्रमुख, सचिव र महासचिव हुँदै २०५१ देखि विसं २०५६ सम्म अध्यक्ष बन्नुभयो ।उहाँ नेपाली राष्ट्रियताको पक्षमा सङ्गठित ढङ्गले आवाज बुलन्द गर्ने एक देशभक्त तथा राष्ट्रवादी नेताका रूपमा हुनुहुन्छ । उहाँकै नेतृत्वमा भारतले कब्जा गरेको नेपाली भूमि कालापानी फिर्ता गर्न विसं २०५५ जेठमा काठमाडौँदेखि दार्चुलाको कालापानीसम्म काठमाडौँ–कालापानी मार्च अभियान सञ्चालन भएको थियो ।

 

त्यस्तै उहाँले विसं २०४५ मा भारतले नेपालमाथि गरेको नाकाबन्दीविरुद्ध विद्यार्थी नेताका रूपमा आन्दोलनको अगुवाइसमेत गर्नुभयो । मन्त्री भट्टराईले विसं २०६२र६३ मा सम्पन्न ऐतिहासिक जनक्रान्तिमा नेकपा ९एमाले० को काठमाडौँ उपत्यका कमिटीको सचिवका रूपमा आन्दोलनको संयोजन र परिचालनमा कमान्डरको भूमिका निर्वाह गर्नुभयो ।विसं २०३९ देखि तत्कालीन नेकपा ९माले० सँग राजनीतिक सम्पर्कमा रहेर पार्टी काममा संलग्न रहनुभएका उहाँ पार्टीको सेल कमिटी हुँदै जिल्ला, अञ्चल र केन्द्रीय कमिटी हुँदै विसं २०६५ फागुनमा बुटवलमा सम्पन्न तत्कालीन नेकपा (एमाले) को आठौँ महाधिवेशनबाट केन्द्रीय कमिटी सदस्यमा निर्वाचित हुनुभएको थियो । पार्टीको नवौँ महाधिवेशनबाट उहाँ सचिवमा निर्वाचित हुनुभयो ।तत्कालीन एमालेको प्रचार विभाग प्रमुख रहनुभएका उहाँ अहिले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य हुनुहुन्छ । उहाँले विसं २०५१ मा ताप्लेजुङ ढुङ्गेसाँघु निवासी बिन्दा घिमिरेसँग विवाह गर्नुभयो । ताप्लेजुङको समग्र विकासका निम्ति उहाँकै सक्रियता र अगुवाइमा विसं २०६४ मा ‘ताप्लेजुङ सरोकार केन्द्र’को स्थापना भएको थियो । उहाँ त्यसका संस्थापक महासचिव हुनुहुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस्