नेकपाले काँग्रेस सांसद रिजाल माथि आक्रमण गरेपछि जंगियो तरुण दल, केन्द्रीय अध्यक्ष बस्नेतले ठाडो चेतावनी
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका नेता तथा प्रतिनिधिसभा सांसद डा.मिनेन्द्र रिजालमाथि सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकर्ताले आक्रमणको प्रयास गरेका छन् । तनहुँको रिसिङ गाउँपालिका भवन उद्घाटनका लागि गएका नेता रिजालमाथि जिल्ला सदरमुकाम दमौलीबाट रिसिङ जाँदै गर्दा नेकपाका कार्यकर्ताहरुले आक्रमणको प्रयास गरेका हुन् । यस घटनाको अहिले नेपाली काँग्रेस पार्टी र पार्टी भित्रका शिर्ष नेताहरुले विरोध गरिरहेका छन् ।
यस्तै यस घटनाको नेपाली काँग्रेसको प्रमुख शक्तिशाली भातृ संस्था नेपाल तरुण दलले पनि घोर भर्त्सना गरेको छ । नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष जित जंग बस्नेतले एक प्रेस विज्ञप्ती जारी गर्दै कायर जस्तै मण्डले शैलीमा नेकपाको ओ हर्कत लाजमर्दो भएको र यदि साच्चिकै लडाई नै गर्ने इच्छा हो भने नेपाल तरुण दल हरदम भिड्नको लागि तयार रहेको बताएका छन् । यस्तै उनले नेकपा सरकरलाई चुनौती दिदै यदि यस्तै किसिमले अधिनायकवादी शैली देखाएर अगाडी बढेमा तरुण दलले पनि आफ्नो शक्ति प्रदर्शन गर्ने चेतावनी दिएका छन् ।
यस्तै उनले नेपाली काँग्रेस जिल्ला सभापति किरण कोइराला पछि काँग्रेस नेताहरुमाथि एक पछि अर्को गर्दै देशव्यापी रुपमा नेकपाका उच्च स्तरका नेताहरुको निर्देशनमा आक्रमण हुन थालेको ठहर गर्दै संवैधानिक अधिकार भित्र पर्ने कार्यक्रम गर्न पाउने, सभा सम्मेलन गर्ने पाउने अधिकारलाई बन्देज नगरी लोकतान्त्रिक पद्धति विश्वास गर्न आग्रह गर्दै राजनीतिक पार्टीको व्यवहार देखाउने समेत सचेत गराएका छन् ।
साथै नेपाल तरुण दल अध्यक्ष बस्नेतले नेकपा सरकारको सुरक्षामा काँग्रेस नेता कार्यकर्ता माथि आक्रमण हुने क्रम नरोकिए र निरन्तर हुन थाले नेपाल तरुण दललाई सडकमा उत्रेर प्रत्याक्रमण गर्न कसैले रोक्न नसक्ने कुराको ठाडो चुनौती र चेतावनी दिएका छन् । यस अगाडी उनको नेतृत्वमा नेपाल तरुण दल वर्तमान सरकारको विरुद्ध धेरै आन्दोलन गरिसकेको छ भने उनले कैयौ पटक प्रहरीको धरपकड समेत खेपिसकेका छन् ।