प्रधानमन्त्री ओली र प्रचण्डको डेढ घण्टा लामो छलफल – मन्त्रिमण्डलमा हेरफेर हुने
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वयले आन्तरिक छलफल गर्दै बालुवाटारमा डेढ घण्टा बिताएका छन् । अध्यक्षद्वयबीच आइतबार भएको छलफलमा पार्टी एकताको काम टुंग्याउनेदेखि मन्त्रिमण्डल हेरफेरसम्मको छलफल भएको बताइएको छ ।प्रचण्डको निजी सचिवालयका अनुसार पार्टी एकताका बाँकी काम टुंग्याउन अध्यक्षद्वयबीच आइतबार दिउँसो बालुवाटारमा झन्डै डेढ घन्टा छलफल भएको हो । छलफलबाट अमिक शेरचन प्रदेश ४ को प्रमुख भएपछि अनुशासन आयोगमा अमृत बोहोराले नेतृत्व पाउनेबारे समझदारी अध्यक्षद्वयले बनाएका छन् । पार्टी एकताको बाँकी काम टुंग्याउन मंगलबार सचिवालय बैठक बस्ने सहमति भएको प्रचण्डको सचिवालयले जनाएको छ ।
अध्यक्षद्वयको छलफलमा सरकारको कामकारबाही र मन्त्रालयको प्रगतिका विषयमा पनि छलफल भएको बताइएको छ । केही नयाँ मन्त्री ल्याउने र केही हटाउने विषयमा छलफल भएको बालुवाटार स्रोतको दावी छ ।बैठकमा मन्त्रीमण्डल हेरफेर गर्नका लागि प्रधानमन्त्री ओलीले प्रचण्डसँग सहयोग मागेपछि प्रचण्डले केही शर्तसहित ‘ग्रीन सिग्नल’ दिएका छन् ।सरकारको काम अपेक्षित प्रभावकारी नभएकोमा अध्यक्षद्वय सहमत भएको भन्दै सरकार परिवर्तन गरी काम प्रभावकारी बनाउन प्रचण्डले सकारात्मक जवाफ दिएका छन् ।
प्रधानमन्त्री निकटष्ठहरुका अनुसार प्रधानमन्त्री ओली सबैभन्दा बढी ७ मन्त्रीहरुबाट असन्तुष्ट छन् । सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित, खानेपानी मन्त्रालय चलाइरहेकी बिना मगर, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणि खनाल, भूमि, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्याल, युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार विश्वकर्मा र सहरी विकासमन्त्री मोहम्मद इस्तियाक राई प्रधानमन्त्रीका नजरमा ‘रेड जोन’मा परेका मन्त्रीहरू रहेको बालुवाटार स्रोतले जनाएको छ । ओलीले प्रचण्डसँग आफ्नै सचिवालयका कारण जनताको आलोचना खेप्नुपरेको भन्दै गुनासो गरेका थिए ।