Logo

अर्थशास्त्री भन्छन् : अर्थतन्त्र त्यति खराब छैन


राज्य कोष रित्तिएको अर्थमन्त्रीको घोषणा वास्तविकताको नजिक नभएको अर्थशास्त्रीहरूले बताएका छन्। शुक्रबार श्वेतपत्र सार्वजनिक गर्दै अर्थमन्त्री डा.युवराज खतिवडाले बजेट अनुशासनमा नबसेका कारण सरकारी ढुकुटी रित्तिएको बताएका थिए।

राष्ट्र बैंकका पूर्वगभर्नर तथा योजना आयोगका पूर्वउपाध्यक्ष अर्थशास्त्री दिपेन्द्रबहादुर क्षेत्री अर्थतन्त्र खराब बाटोमा गयो भनेर हल्ला गर्नुका पछाडि जस लिने सोचले काम गरेको बताउँछन्। उनले भने, ‘विप्रेषण, व्यापार घाटा र चल्तीखाता एक आपसमा सम्बन्धित छन्। चल्तीखाता ऋणात्मक हुनुको पछाडि विप्रेषण आयातमा सिथिलता र व्यापार घाटाको हात छ। एउटै विषयलाई समेत उहाँहरूले फरकफरक तरीकाले व्याख्या गर्नु भएको छ।’

सामान आयातमा उल्लेख्य वृद्धि भए पनि भन्सारबाट संकलन हुने राजस्वको लक्ष्य पूरा हुन सकेको छैन र सरकारले गत आवभन्दा भन्सार संकलनको लक्ष्य ३० प्रतिशतले बढी दिएको छ। ‘आयात बढ्यो भन्सारबाट राजस्व बढेन भन्नुको अर्थ अर्थ मन्त्रालयको पद्धतिले काम गरेन भन्नु हो’, अर्थशास्त्री क्षेत्रीले भने, ‘अहिले केहि छैन भनेपछि भोलि केही हुँदा मैले गरे भन्ने ठाउ पाइन्छ। अर्थमन्त्रीले राजस्व उठाउन सकिन भन्नु अर्थ मन्त्रालयको बेइज्यती हुनु हो।’

योजना आयोगका पूर्वउपाध्यक्ष शंकर शर्माले अर्थतन्त्र श्वेतपत्रमा भनिएजस्तो खराब अवस्थामा नभएको बताए। उनले भने, ‘बजेटमा दुई खर्ब स्रोत नपुगेको हो। एक खर्ब कृषि सहयोग आएन। दाताले घोषणा गरेको सहयोग आउने÷नआउने ठेगान नभएकाले बजेटमा राख्नु हँुदैन। राखेपछि आएन भने स्रोतको व्यवस्था गर्ने जिम्मा सरकारको हो।’ सरकारी ढिकुटीमा एक खर्ब छ भनेरपछि नभएको रकम कर्मचारीले हिसाब गर्दा भएको गल्तिको परिणाम भएको शर्माले बताए। आजको अन्नपूर्ण पोष्टमा खबर छ ।

‘कार्यक्रम प्राथमिकीकरण गर्नु अहिलेको प्राथमिकता हो’, शर्माले भने, ‘करको दर अहिले पनि बढी छ, दायरा बढाउने विषयमा सोच्न ढिला भइसक्यो। सरकारले सोध भर्ना र खर्च नहुने बजेटबाट नपुग स्रोतको व्यवस्थापन गर्न सकिन्छ।’

प्रतिक्रिया दिनुहोस्