Logo

प्रचण्ड भन्छन् : एकतामा दुर्घटना नै हुँदैन भन्न सकिँंदैन 


देशको वस्तुगत परिस्थितिले नेताको दिमागमा विचार बन्छ । परिस्थितिअनुसार नयाँनयाँ विचार बन्छन् । नयाँनयाँ सोच आउने गर्छन् । यस पटक एमाले र हामीबीच विचारमा एकरूपता हुने देखियो । जस्तो : शान्तिपूर्ण प्रतिस्पर्धामा एक भएर जानेमा माओवादी र एमालेमा एकरूपता देखियो । रणनीतिक हिसाबले जाने भनेको समाजवादतर्फ हो । अब पुँजीवादी क्रान्तिको बाटो मूलभूत रूपमा पूरा भएको छ, अबको बाटो नयाँ जनवादी क्रान्तिको बाटो होइन ।

अब हामी समाजवादतर्फ जानुपर्छ भन्ने कुराले मिलेर जानु प्रेरित गर्‍यो । तत्काल शान्तिपूर्ण बाटोमा अघि बढी राज्यबाट स्थायित्व र समृद्धितिर देशलाई लैजानुपर्छ भन्ने कार्यनीति पनि एउटै भयो र रणनीति एउटै । माक्र्सवादलाई निर्देशक सिद्धान्त मान्ने कुरा पनि एउटै भएपछि देश र जनताको चाहना पनि मिलेर जाऊन् भन्ने देखियो । जनतासँग अन्तक्र्रिया गर्दा कम्युनिस्ट एउटै भइदिए हुन्थ्यो भन्ने कुरा बुझियो । २०४६ सालमा पञ्चायतविरोधी आन्दोलनमा जनताबाट एकचोटि जबरजस्त एकता हुनुपर्‍यो भन्ने आवाज आयो । त्यसबेला एकता केन्द्र, एमाले बन्यो । जनता र कार्यकर्ताको एउटै कम्युनिस्ट केन्द्र बन्नुपर्‍यो भन्ने आवाज आयो । नेतृत्वले पनि एउटै केन्द्र बनाउने निर्णय गर्‍यो । मेरो पहिलैदेखि ध्यान कहाँ हो भने चुनावअघि भएको हुनाले एकताको कुरा कामयाबी हुन्छ भन्ने लाग्यो । एक्लै चुनाव उठेर एउटै पार्टीको बहुमत आउने अवस्था छैन, बहुमत ल्याउने हो भने मिलेर उठ्नुपर्छ भन्ने स्वत: बुझिने कुरा थियो । चुनावको मुखैमा एकताको घोषणा गर्ने रणनीतिले उपयुक्त अवसर पायो ।

चुनावले एकताका लागि मल र सिंचाइको काम गर्‍यो । पहिले पार्टी एकताको कुरा गरे पनि भनेजस्तो परिस्थिति बनेको थिएन, अहिले बन्यो । एमाले र माओवादी दुवै ठूलो बनेर पनि हेरियो । ठूलो हुँदा मनोविज्ञान के हुने रहेछ भन्ने पनि थाहा भयो । सानो भएर पनि हेरियो । एमाले पहिलो संविधानसभामा तेस्रो भयो, सानो पार्टी भन्ने भयो । उसले सानोको अनुभव पनि गर्‍यो । अहिले ठूलो भयो, ठूलोको अनुभव पनि गर्‍यो । माओवादी पनि पहिलो संविधानसभा निर्वाचनमा देशकै ठूलो पार्टी भयो, दोस्रो संविधानसभा तेस्रो भयो । सानो र ठूलो पार्टी हुँदाको अनुभव पनि भयो । विभाजनको अनुभव एमाले र माओवादी दुवैले गरे । यी सबै अनुभवबाट गुज्रियौं हामी । एउटा परिपक्व पार्टी बन्नका लागि आवश्यक पर्ने दु:ख, कष्ट, हन्डर भोगेको हुनाले पनि अब एक भएर जानुपर्छ भन्ने धरातल बन्यो ।
कुनै पार्टी विवादरहित, समस्यारहित हुँदैन । पार्टीभित्र समस्या हुन्छन्, समस्याको अभिव्यक्तिजस्तो हो पार्टी । अर्को विचार नै पार्टी हो । पार्टी रहेसम्म समस्या पनि रहिरहन्छन् । समाजमा भएका समस्या समाधान गर्न मानिसहरूले पार्टी बनाउँछन् । दर्शनशास्त्रीले जब समाज समाजवादमा जान्छ, पार्टीको आवश्यकता सकिन्छ भनेका छन् । एकता केन्द्र बनाउन भनेर म आफैं कस्सिएको हो । संयोगले म मशालको महासचिव हुन पुगेँ । २०४६ साललगत्तै मैले पार्टी एकता गर्नुपर्छ भनेर निर्मल लामा, रूपलाल विश्वकर्मा, मोहनविक्रमलाई चिठी लेखेँ । यति शक्ति तुरुन्तै एक हुनुपर्‍यो भनें । त्यतिबेला एकले अर्कोलाई दक्षिणपन्थी भनिन्थ्यो, उग्रपन्थी, मध्यपन्थी, दलाल, सीआईडी भनिन्थ्यो । यस्ता आरोप–प्रत्यारोपबीच एकता कसरी होला भन्थे साथीहरू । त्यसबेला पनि पार्टी एकता भयो । त्यो एकताले देशमा नयाँ चीजको विकास गर्‍यो ।

अहिले पनि एमाले र माओवादी एकतामा धेरै पर गइसक्यौं, अब पछाडि फर्कने ठाउँ देख्दिनँ । तर फेरि कुनै दुर्घटना नै हुँदैन भन्न सकिँंदैन । राजनीतिमा असम्भव भन्ने कुराचाहिँ केही हुँदैन । कहिले ठूला कुरा मिल्ने, साना कुरामा हात्ती छिर्‍यो पुच्छर अड्कियो भनेजस्तो पनि हुन सक्छ । त्यो अलग कुरा हो । शंकै गर्नुपर्दैन, पार्टी एकता हुन्छ । एकीकृत पार्टी समस्यारहित हुँदैन । विवादरहित हुँदैन । अहिले पनि एमाले र माओवादीभित्र कम समस्या छैनन् । कांग्रेसभित्र पनि कम समस्या छैनन् । कुनचाहिँ पार्टी छ र समस्यारहित ? भोलि एकीकृत हुने पार्टीमा पनि अलिअलि समस्या हुन्छन् । मैले भनेको छु नि ।

शान्तिपूर्ण र बहुदलीय प्रतिस्पर्धाबाट हामी जाने बाटोमा एकता छ । कता जाने ? स्थायीत्व र समृद्धिको बाटोबाट समाजवादतर्फ जाने नै हो । यो भावी रणनीतिमा पनि विवाद छैन । एकता हुन चाहिने मुख्य तत्त्व बनिसक्यो । अब एकता त भयो, भयो । विभिन्न प्रवृत्ति, पात्र स्वभावका कारण अलिअलि समस्या भइहाल्छ । नेतृत्वको आँटले गर्दा ठूलो शक्ति सञ्चय पनि हुन्छ, देश विकासका लागि तागत पैदा गर्छ ।

आजको कान्तिपुरबाट

प्रतिक्रिया दिनुहोस्